ओखलढुंगा : खिजीदेम्बाले विद्यालयमा आइतबार बिदा नदिने,मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय
ओखलढुंगाा । खिजीदेम्बा गाउँपालिकाले संघीय सरकारले विद्यालयहरुमा आइतबार दिँदै आएको बिदा कटौती गर्ने निर्णय गरेको छ । सरकारले काठमाडौं उपत्यकमा बढ्दो सवारी चाप र इन्धन खपतको अवस्थालाई ध्यानमा राख्दै २ दिन अर्थात शनिबार र आइतबार विदा दिने निर्णय गरेको थियो । खिजीदेम्बा गाउँपालिकाले भने कोभिड-१९ को प्रभावले विद्यालय तहमा पठनपाठन प्रभावकारी रुपमा हुन नसकेको, ग्रामीण क्षेत्रको शैक्षिक गुणस्तर खस्किँदै गएको जनगुणासोलाई ध्यानमा राख्दै आइतबारको बिदा कटौती गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिए । आइतबार पनि बिदा दिदा ठूलो शैक्षिक क्षति व्यहोर्नुपर्ने कुरालाई ध्यानमा राख्दै साविक अनुसार नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उनले बताए । शैक्षिक क्रियाकलापलाई प्रभावकारी र निरन्तरता दिनुपर्ने अवस्थालाई ध्यानमा राख्दै हाललाई आइतबार बिदा दिने व्यवस्थालाई लागू नगर्ने र साविक बमोजिम नै विद्यालयहरु शुचारु गर्ने र शैक्षिक क्रियाकलापलाई प्रभावकारी रुपमा सञ्चालन गर्न गराउन विद्यालयहरुलाई निर्देशन दिने भएको प्रशासकीय अधिकृत नारायण पुरीले जानकारी दिए । त्यस्तै,गाउँपालिकाले मातृभाषा सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष शेर्पाले विभिन्न जातजातिको मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको जानकारी दिए । वडाहरुमा सुनुवार, तामाङ र शेर्पा मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग अनिवार्य गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिए । वडा कार्यालयहरुमा सरकारी कामकाजको भाषा मातृभाषा लागू भएका वडाहरुमा १, २, ३, ४ र ५ मा सुनुवार, २, ४, ५ र ६ मा तामाङ र २, ६, ७, ८ र ९ मा शेर्पा मातृभाषा लागू हुनेछ । वडाहरुमा सरकारी कामकाजको भाषा स्थानीय जातजाति, समुदायको उपस्थिति जनसंख्याको आधारमा बाहुल्यता रहेको जातजातिको मातृभाषाको रुपमा अनिवार्य रुपमा प्रयोग गर्ने अध्यक्ष शेर्पाले घोषणा गरे । यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि गाउँपालिकामा भाषा अनुबादक विज्ञ नियुक्त गर्ने नीति अघि सारिएको छ । खिजीदेम्बा गाउँपालिका शेर्पा समुदायको बाहुल्यता रहेको गाउँपालिका हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय