ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्षका उम्मेदवार रामबहादुर खत्रीले आफु निर्वाचित भए पदमा रहँदा कुनै सुविधा नलिने घोषणा गरेका छन् । सरकारी सवारी प्रयोग नगर्ने, पदिय जिम्मेवारीमा रहँदा कुनै शिर्षकका सेवा सुविधा तथा भत्ता नलिने घोषणा गरेका हुन् ।

जनताले प्रत्यक्ष महसुस गर्नेगरी स्थानीयको माग र आवश्यकताका आधारमा काम गर्ने, खिजीदेम्बालाई आर्थिक विकास र सुशासनका दृष्टिकोणले देशकै नमुना गाउँपालिका बना  उनाउने खत्रीले प्रतिवद्धता जनाएका छन् । ‘जनताले तिरेको करबाट खरिद गरिएको सरकारी गाडी म प्रयोग गर्दिन र जेष्ठ नागरिक, सुनौलो हजारदिन भित्रका आमा, बच्चा र अपाङ्गलाई प्रयोग गर्न दिनेछु ।’ उनले भनेका छन्, ‘गाउँपालिका अध्यक्षको हैसियतले प्राप्तहुने कुनैपनि प्रकारको तलब भत्ता, पारिश्रमिक वा सेवासुविधा लिनेछैन । र,उक्त रकम जनताकै नाममा जम्मा गरि अपांगहरुको लागि वृत्तिविकास र जिविकोपार्जन कार्यक्रम सन्चालन गरिदिने छु । मलाई सामान्य दैनिकी चलाउन व्यक्तिगत खर्चले पुग्छ आज जसरी बाँचेको छु जनताको सेवक हुँदा पनि सुविधाभोगी हुन्न ।’ जनताको निस्वार्थ सेवा गर्ने उद्देश्यले रहेकाले पदमा रहँदा आफ्ना आवश्यकता पुरा गर्न व्यक्तिगत खर्च गर्ने उनले बताए ।

खिजीदेम्बाका उम्मेद्वारहरु मध्ये अन्य कसैले यस्ताे घाेषणा गरेका छैनन् । नेताहरु पदमा पुगेपछि सुविद्याभाेगी हुन्छन् भन्ने जनगुनासाे बढीरहेका बेला खत्रीले सुविद्या त्यागकाे पूर्व घाेषणा गरेका छन् ।

यूवाहरुका लागि भलिबल र फुटबल खेलमा दक्षता बनाउने गरि प्रशिक्षण गराउने र निर्णायक (रेफ्री) उत्पादन गर्ने, सुशासनको अनुभूति गराउने, भ्रष्टाचारको अन्त्य गर्ने, कानून विपति कुनैपनि प्रकारको पक्षपाती र अव्यवहारिक वा अव्यवस्थित काम नगर्ने, जिम्मेवारी प्रति पूर्णरूपमा जवाफदेहि हुने खत्रीले अठोट लिएका छन् ।

खिजीदेम्बाका जनताको हित र अधिकारका सम्पूर्ण कामहरु सहज र सरल तरिकाले समयभित्र सम्पन्न गर्ने, सबै वडा र टोलबाट दैनिक यातायातका साधन मार्फत शहर र सदरमुकाम आवतजावत गर्न सहज बनाउने, रावादोलु र भूसिंगालाई थप सहज बनाउन ज्यादिमबाट भिरखर्क रमाईलोडँडा बुक्तेल सिधा सडक निर्माण गर्ने, ग्रामीण स्तरमा उद्योग धन्दा सञ्चालन गरेर वा सबै वडामा हुने भौतिक पूर्वाधारका कामहरुमा दक्षताको आधारमा समान काम समान ज्यालाको व्यवस्था गर्ने, यूवा स्वरोजगारका कामहरु सञ्चालन गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम ल्याएर सबै नागरिकलाई उद्यमी बनाउने लगायतका योजना खत्रीले अघि सारेका छन् ।

उनले ५ वर्षमा के के काम गर्ने र खिजीदेम्बा कस्ताे बनाउने भन्ने प्रतिवद्धता पत्र समेत सार्वजनिक गरिसकेका छन् । सरकारी सुविधा त्यागको घोषणासहित महत्वकांक्षी योजना अघि सारेका खत्रीले खिजीदेम्बामा एमालेका सबै उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् ।

चुनावी सभा  र घरदैलाेमा रहेका खत्रीले खिजीदेम्बामा एमाले जित नजिक रहेकाे बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय