
काठमाडौँ । ओखलढुंगामा ९ जना कोरोना संक्रमित थपिएका छन् ।
मंगलबार कांग्रेसका जिल्ला सभापति प्रदिप कुमार सुनुवार र जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख श्रेष्ठ सहित उनको परीवारका ३ जना सदस्यमा समेत कोरोना देखिएको छ । त्यस्तै जिल्लाका १ जना पत्रकार दिर्ग खत्रीमा समेत संक्रमण पुष्टि भएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । नयाँ संक्रमित सबैलाई रुम्जाटार अस्पतालको आइसोलेसनमा लैजाने तयारी भईरहेको छ ।
८१ वटा स्वाब मध्ये १२ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ प्रमुख सुमन तिवारीले बताए । उनका अनुसार ९ जना नयाँ संक्रमित थपिएका छन् भने ३ जना यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेका सकृय संक्रमितहरुकै रिपोर्ट पोजेटिभ आएको हो ।
मंगलबार आएको रिपोर्टमा सुनकोशी गाँउपालिकाका ५ जना, खिजिदेम्बा गाँउपालिकाका १ जना, मानेभञ्ज्याङ गाउपालिकाका १ जना र जिल्लामा सरुवा भएर आएका २ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाका ५ जना सक्रिय संक्रमितमध्ये २ जनाले कोरोना जितेका छन् । मंगलबार थपिएका संक्रमित सहित गरेर जिल्लामा सक्रिय संक्रमितको संख्या १२ पुगेको छ ।
एकै दिन १२ जनामा कोरोना संक्रमण देखिएसँगै जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सबैलाई सतर्क रहन आग्रह गरेको छ