
काठमाडौं । तेजाब आक्रमण सम्बन्धि नयाँ कानुन बन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) आक्रमणमा संलग्नलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताएका हुन् ।
१५ दिनभित्र कानुन मस्यौदा गरिसक्न कानून, न्याय तथा सवद्ध निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा १२ जना एसिड पीडितसँग भेट गरेका थिए । उनले एसिड आक्रमणमा संलग्नको सम्पत्ति रोक्का गरी त्यसैबाट उपचार खर्च र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पु(याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था कानुनमा गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, लाग्ने सबै खर्च सरकारले ब्यहोर्ने, नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च तथा एसिड पीडितलाई निःशुल्क पठनपाठनको प्रबन्ध गर्ने, उचित तालिम, रोजगारी, व्यवसाय र जीविकाको प्रबन्ध सरकारले मिलाउने घोषणा गरेका प्रेस सल्लाहकार थापाले बताएका छन् ।
प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गर्ने आश्वासन पनि दिएका छन् ।